
फाल्गुन २०,२०७९ नागार्जुन, काठमाडौँ।
काठमाडौँ जिल्लाका प्रसिद्ध नारायणहरु मध्ये कान्छा नारायण भनेर चिनिने काठमाडौ जिल्लाको उत्तर-पश्चिम वायव्य कोण नागार्जुन नगरपालिका वडा नम्बर ३ मा अवस्थित ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय तथा पौराणिक स्थल इचंगुनारायण मन्दिरको आज पुनर्निर्माण कार्यको शिलान्यास कार्य सम्पन्न भयो। २७ मंसिर २०७९ मा क्षमा पूजा गरी जगै सम्म भत्काएर पुननिर्माणको लागि शिलान्यास गरिएको हो।

उक्त शिलान्यास कार्यक्रममा काठमाडौँ संघीय निर्वाचन क्षेत्र नम्बर ७ का सांसद माननीय श्री गणेश पराजुली,नागार्जुन नगरपालिकाका प्रमुख श्री मोहन बहादुर बस्नेत ,काठमाडौ महानगरपालिकाका निवर्तमान प्रमुख श्री विद्या सुन्दर शाक्य, नागार्जुन नगरपालिकाका उपप्रमुख श्री सुशिला अधिकारी, नागार्जुन नगरपालिकाका प्राविधिक शाखा प्रमुख ईन्जिनियर श्री कन्चन खनाल, नागार्जुन नगरपालिका प्रशासन तथा योजना शाखा अधिकृत श्री नारायण प्रसाद तिमिल्सिना, नागार्जुन नगरपालिका वडा नं ५ मा कार्यरत इन्जिनियर श्री नरेन्द्र श्रेष्ठ, नागार्जुन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष श्री उमेश लामा, वडा नम्बर ३ का वडा सदस्यहरु श्री बमबहादुर श्रेष्ठ, श्री सञ्जु थापा बुढाथोकी, वडा नम्बर ३ का निवर्तमान वडाध्यक्ष श्री प्रेमलाल श्रेष्ठ,नागार्जुन नगरपालिका वडा नं २ का वडा सचिव श्री सिद्धार्थ श्रेष्ठ, इचंगुनारायण स्वास्थ्यचौकी वडा नं ३ मा कार्यरत सि.अ.न.मी, श्री राम कुमारी श्रेष्ठ, इचंगुनारायण संरक्षण समितिका निवर्तमान अध्यक्ष कुल बहादुर श्रेष्ठ, गोरखा काठमाडौँ नागार्जुन सेवा समितिका अध्यक्ष श्री जीव नाथ अधिकारी, समाजसेवीहरु श्री सुरेन्द्र श्रेष्ठ,श्री शङ्ख वीर पुतुवार ,श्री खड्गमान श्रेष्ठ बलभद्र श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ ,धनबहादुर श्रेष्ठ, तिलक खड्का, नवीन लामा, रवीन श्रेष्ठ, श्याम श्रेष्ठ लगाएत स्थानीय जेष्ठ नागरिक, भद्रभलादमी सामाजिक तथा व्यवसायिक युवाहरूको बाक्लो उपस्थिति रहेको थियो।

इचंगुनारायण मन्दिरका मुल पुजारी श्रीमद राजोपाध्यायले वैदिक विधि अनुसार शिलान्यासको लागि आवश्यक पूजा सामग्री सहित विधिपूर्वक मन्त्रोच्चारण गरी तथा इचंगुनारायण संरक्षण समितिका अध्यक्ष श्री श्रीलाल श्रेष्ठले दियो, कलश गणेश स्थापना गरी पूजा गरेर शिलान्यास आरम्भ गरिएको थियो।
भगवान श्री नारायण विराजमान हुनुभएको प्रतिमूर्तिलाई वीचमा पारी चारैतिरबाट करिब ५.६फिट गहिराइ ,१.५ मिटर चौडाइकाे वर्गाकार फाउन्डेसन बनाई, मूल ढोका रहने स्थानको ठीक मुनि पर्नेगरी १ र ४ वटा कोणहरुमा कलश स्थापना गर्नको लागि साना खाल्टाहरु(फाउन्डेसन) बनाई वैदिक विधिअनुसार मन्त्रोचारण गर्दै मूल पुजारी श्रीमद राजोपाध्यायले उक्त ठाउँहरु शुद्ध गर्नुभएको थियो भने संरक्षण समितिका अध्यक्ष श्री श्रीलाल श्रेष्ठ र ठेकेदार कम्पनीका प्रमुख ले मूल कलश स्थापना गर्नुभएको थियो।
त्यसपछि क्रमशः वैदिक विधि मन्त्रोचारण गर्दै आग्नेय कोणमा रहेको फाउन्डेसनमा संघीय सांसद श्री गणेश पराजुली, नैऋत्य कोणमा रहेको फाउन्डेसनमा नागार्जुन नगरपालिकाका प्रमुख श्री मोहन बहादुर बस्नेत ,वायव्य कोणमा रहेको फाउन्डेसनमा काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख श्री विद्यासुन्दर शाक्य तथा इशान कोणमा रहेको फाउन्डेसनमा नागार्जुन नगरपालिकाका उपप्रमुख श्री सुशिला अधिकारीले कलश स्थापना गर्नुभएको थियो भने स्थापना गरिएका पाँचवटै कलशमा नागार्जुन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष श्री उमेश लामाले पूजाअर्चना गर्नुभएको थियो।
Source : Tikhokalam